Thursday, July 14, 2011

“अनागरिक” सरुविन्द शव्दहरुको शिविरबाट अनुत्तरित प्रश्नका उत्तर खोजिरहेछन्......




“अनागरिक” सरुविन्द शव्दहरुको शिविरबाट अनुत्तरित प्रश्नका उत्तर खोजिरहेछन्......

आरजु विष्ट “सल्यानी”
अस्ति भर्खरै त हो
सुत्केरी हुँदाको गन्ध हराएको छैन
क्रान्तिको गर्भादान गर्न खटिएका बाबु
कुन रणक्षेत्रमा परे
दागबत्ति ‘फू’ भएको छैन ।
झण्डै दुई करोड रैतीका चुल्हामा
आगो बल्दैन
उल्टो खुकुरी, खुँडा र खुर्पा उद्याउने
आरन चलायौ भन्ने सुनेको छु
थुतुनो चलाउँदा
करोडौ छातीहरु
जलायौ भन्ने सुनेको छु
डढेलो उठाएर पटक पटक आफैलाई
सल्कायौ भन्ने बुझेको छु
कठै शरीर ढाडिएर
देशले भार थाम्न नसक्ने भएको छ
‘झी’ भएको धेरै भयो
बाबु ‘फू’ होइन तिमीले अब ‘सू’ गर ।....बाँकि पंक्तिहरु छन् ।

श्रष्टा सरुविन्द सभ्य समाज, साहित्य, राजनीति, कानुन, संचार वा अध्ययनका विविध क्षेत्रमा विवेक अनि उनका चर्मचक्षुले जे देख्दछन् र भेट्दछन् त्यसलाई पाठक सामु सिधा शव्द प्रहारको शिविरमा ऐना जस्तै खडा गरीदिने शसक्त एउटा फरक शैलीका हस्ताक्षर हुन । त्यहि ऐना हेर्दा कसैलाई टुक्र्याउ झैं लाग्न सक्ला, फुटाउ लाग्न सक्ला, त्यो उनिहरुको समस्या हो, श्रष्टाको होईन र ऐना दिएर आफैंलाई कुरुप देख्छन् त यो पनि हेर्नेहरुकै समस्या हो ।

देशमा हुने संघर्ष, वर्ग संघर्ष र क्रान्तिको नाराको गर्भादान भएको दशकौं भईसक्यो तर ड्राईभरहरुले देशको गाडी हाँक्न सकिरहेका छैनन् । त्यसैले पनि वाध्य छन् आममानिस बमका, गोलाका, बारुदका, लडाँईका, झगडाका, मार्ने मर्नेका शोकका श्रृंखलाका खबर सुन्न वाध्य छन् । श्रष्टाको दिशा निर्देशन सायदै मन नपर्दो रैछ कि क्या हो ? अनुत्तरीत प्रश्न कायमै छ, परीवर्तन कहिले ?

अबको संसार वैज्ञानिक संसार पनि हो भने विज्ञानको नतिजा पटक पटकका प्रयोगबाट मात्रै आउने गर्दछ । यस्तै उनको लेखनको गर्भमा लुकेको तिक्ष्णता शव्द, भाव र समष्टिमा प्रयोगधर्मिता पाईन्छ । लेखकले स्वीकारे पनि नस्विकारे पनि लाग्छ श्रष्टा भण्डारीको लेखनको एउटा शसक्त पक्ष प्रयोग, पुनः प्रयोग र अन्तमा अकारको शव्द प्रक्षेपण ने हो । त्यसैले उनलाई यदाकदा प्रयोगवादी भन्दा उचित नै लाग्दछ ।

धेरैलाई तीतो त्यति मन पर्दैन र गुलियो मन पर्छ । उनिहरु जस्ले वढि गुलियो खाने गर्दछन् अन्ततः चाहिने तीतो नै हो । के औषधी गुलियो हुन्छ र ? तर त्यो जीवनको सहारा भईदिन्छ, हो यस्तै लाग्छ सरुविन्दको सिर्जनाको पाटोलाई उदिन्न खोज्दा, जहाँ तीतो तर यथार्थको शव्द शिविरको पेटारोमा स्पष्ट मानचित्र पाठकले पाएका हुनुपर्छ । त्यसैले होला, गुलियोबाट भन्दा पनि उनले तीतो यथार्थपरक ढंगलबाट आफुलाई सिजृनामा तल्लिन बनाएको र समय, परिस्थिति र याम–यामको आवसयक्तालाई वोध गरेको ठान्नु पनि पर्छ ।

नागरिकतामा लिखित नाम गोविन्दबहादुर भण्डारी पेशाले जागिरे हुन । नेपाल सरकारको उपसचिव बनेका भण्डारी अघिल्लो तहमा पुग्ने चेष्टामा छन् भने साहित्यको लागि स्वमोर्चा नै खडा गरेर “सरुविन्द” को नामबाट खडेरी परेको वास्तबिक लेखनधारमा आफुलाई उभ्याएर आफ्नो कलमको मसिलाई सुक्न दिएका छैनन् । कानुनका, राजनीतिशास्त्रका विद्यार्थी श्रष्टा भण्डारी आधा दर्जन पुरस्कार, पदक÷विभुषण र आधा दर्जन वढि संघ, संस्थाकामा कार्य सम्पादन गरीसकेका व्यक्तित्व हुन ।

भण्डारीका आधा दर्जन कृतिहरु प्रकाशन भईसकेका छन् । कानुनी शासन, विरुद्ध प्रशासनिक कानुन ? पुस्तक कानुनी शासनको पक्ष र विषयमा नेपालमा पहिलो पुस्तकको रपमा आएको थियो जो २०४२ सालमा छापिएको हो । २०५० सालमा उनको “विसंगत बस्तीहरु” प्रयोग लेखनको रुपमा आएको थियो भने २०५७ सालमा स्वीकृत रहेका अविस्कृत विचारहरुको संग्रह “मान्छेहरु” प्रकाशित भएको थियो ।

साहित्यकार भण्डारीको लेखनको अर्को शसक्त पक्ष निवन्ध पनि हो । उनको “अनावृत्त अण्डकोष” निवन्ध संग्रह २०५९ सालमा प्रकाशित भएको थियो भने उनले २०६४ सालमा कविता संग्रह “मेरो ब्रह्माण्डको जीवित सूर्य” प्रकाशित गरेका थिए ।

पोखरा १४ मझेरीपाटन २०१७ पौष ७ मा जन्मेका भण्डारी परिवारका जेष्ठ सुपुत्र उनले गद्यी आरोहणको रजत महोत्सव पदक २०५२÷०५३ प्राप्त गरेका थिए । ०३५÷०३६ मा पृथ्वीनारायण क्याम्पस स्ववियू सदस्य तथा साहित्य संयोजक समेत भएका थिए । स्याङ्जामा २०४९ मा अफिसर्स क्लवको कार्यकारिणी सचिव, रौतहटमा २०५३ मा अफिसर्स क्लवको कार्यकारिणी सचिव, मेरो नेपाल युवा क्लवको २०४८ मा संस्थापक अध्यक्ष, हिमचुलि साहित्य प्रकाशन लमजुङको २०५७ मा विशिष्ट सल्लाहकार, राष्ट्रिय मानव अधिकार प्रतिष्ठान, कास्कीको उपाध्यक्ष र पश्चिमाञ्चल क्षेत्रीय हुलाक निर्देशनालयमा पोखरामा क्षेत्रीय निर्देशक भएर काम गसिकेका छन् ।

राजनीतिशास्त्रमा एमए, बि.एल, बि.एड, एल.एल.एम सम्मको अध्ययन गरेका भण्डारीले २०३९÷२०४२ मा त्रिविवि को कानुन संकाय तर्फ श्री ५ वीरेन्द्र तथा ऐश्वर्य छात्रवृत्ति पाएका,A message from young people for the maintenance and strength ening of peace शिर्षकमा अन्तराष्ट्रिय युवा वर्ष सन् १९८५ मा राष्ट्रव्यापि अन्तर क्याम्पस निवन्ध प्रतियोगितामा नेपालबाट प्रथम (नेपाल ल क्याम्पस–२०४१) भएका थिए ।

२०४२ सालमा विश्व वातावरण दिवसको अवसरमा आयोजित राष्ट्रव्यापि निवन्ध प्रतियोगितामा प्रथम (नेपाल ल क्याम्पसबाट) भएका, २०४१ सालमा चौेंध अञ्चल सांस्कृतिक परिवारद्धारा आयोजित राष्ट्रव्यापि निवन्ध प्रतियोगितामा द्वितिय स्थान प्राप्त गरेपनि पुरस्कार लिन अविस्कार गरेका, २०४५ सालमा पोखरा उपमहानगरपालिकाद्धारा आयोजना गरीएको कविता गोष्ठिमा प्रथम स्थान हाँसिल गर्न सफल भएका थिए । निरन्तर लेखनमा लागिरहेका साहित्यकार भण्डारीका राष्ट्रिय तथा स्थानिय पत्र पत्रिकामा विविध लेख, रचना प्रकाशित भईरहेका छन् ।

सरुविन्दको लेखन सिर्जनामाथि अर्को एउटा आयाम हो “शव्द शिविरमा सरुविन्द” शिर्षकको पुस्तक, जो रामप्रसाद गौतमद्धारा सम्पादित कृति हो । कृतिमा शव्दबाटै अमुल्य चार चरणखण्ड रहेका छन् । जहाँ १.स्रष्टा शिविर रामप्रसाद गौतमद्धारा सरुविन्दको जीवनी, २.सदिच्छा शिविर रहेको छ र यस्मा २५ श्रष्टाको सदिच्छा प्रस्तुत गरीएको छ । ३.समीक्षा शिविर हो, यस्मा २३ जनाको शव्द समिक्षा रहेको छ भने ४. साक्षात्कार शिविर हा, यस्मा दुई स्थानिय पत्रिका असल साथी र गोल्डेन न्यूज राष्ट्रिय दैनिकमा प्रकाशित दुई शिर्षकका आलेख छन् ।

सरुविन्द निडर, स्वाभिमान बोकेको, सबै नकाम विरुद्धको योद्धा जस्तो लाग्छ । यहाँ बाँच्नुका तरिका पनि फरक छन्, हाँस्नुका तरिका फरक छन् तर यि श्रष्टाको जीवनशैली भिन्दै खालको हुनु नै यिनको गर्विलो परिचय हो । यि नागरिकताको नागरीक मात्रै भएको भए सायद अनागरिक सरुविन्द बन्न सक्थेनन् र यो पंक्तिकारले लेख्ने आँट गर्दैनथ्यो । मलाई कुनैबेला लाग्थ्यो “यो मनुष्य अचम्मको छ, अहंकारी छ, अराजक छ, अहमवादी छ, यो केवल मिथ्या रहेछ, जो जस्ले यस्तै सोचेका थिए ।”

मलाई याद छ, जेष्ठको २८ गते उहाँले मलाई आफ्ना चार पुस्तक ल्याएर दिए । २८ गतेसम्म आउँदा ठ्याक्कै मेरो जीवनमा घटेको घटनाको दोव्बर गते भएको थियो । म जहाँ थिएँ, उनि त्यहि आएका थिए तर नभेटेरै हामीले सुजबुझको काम गर्यांै । उनले थोरै भने धेरै भनेनन् कि ः“भाई कुनैपनि समस्याको लागि दाई छ ।” जेष्ठ १४ पछिको कुनै एक दिन उनको गोजि फोन (दूरभाषबाट) उनले भाई भनेर बोलेको पहिलो बोलि जो सुनेको थिएँ, एउटा भरोसायोग्य मलहम जसतो लागेको छिपाउनु हुन्न भन्ने लागेको छ । यि मान्छे कोमल पनि हुन तर पडाड जस्तो छाति बनाई सतिसाल जस्तो उभिएर कठिन तपस्या किन गर्न खोज्छन् ? अमिल्दा प्रसंग र विषयसंग यिनि पौंठेजोरी सायद आजीवन खेलिरहने छन् तर सबथोक र संभावनाका खानि पनि हुन ।

समाजका प्रत्येक मै हुँ भन्नेको असलि भूतको झैं स्वरुपलाई देखेपछि साच्चै उनले शव्दहरुको आक्रोसको ज्वालामुखि पटक पटक विष्फोट गराउन चाहन्छन् र पुरातन मार्गचित्रको क्रमभंगतासंगै नूतन गोरेटो निर्माणको लागि अग्रगामि छलाङ मार्ने सपना देख्न चाहन्छन् र उनका सिर्जनाको पेटारोमा पनि यहि भेटिन्छ ।

फराकिलो नदी सहजै पार गर्न सकिन्छ तर भूमरि र जंघारहरु, रह र दहमा वारपार गर्न मुस्किल पर्छ, हो यहि जोखिम उठाउन यिनले खोजिरहेकोले तब मात्रै समुन्नति होला कि भन्ने अपेक्षा यिनको हुनुपर्छ । समालोचकहरले वा उनिप्रति कलम चलाउन खोज्नेहरुले यिनलाई बेमेलको, अमिल्दो, अहंकारी, विद्रोही, असन्तुष्ट आदि, आदि के के जाते भन्छन् र लेख्छन् होला, यो सतहि कुरा मात्र हो । जुन स्वभाव र तिक्ष्णताले सरुविन्द भए उनको पहिचान नै त्यहि हो जो अरुको छैन र त लेखनमा फरक धारमा ठिंग उभिएको सतिसाल जस्तो भए ।

यि श्रष्टा स्वच्छन्द लेखनको आकाशको यात्रामा रहेको आभाष पाईन्छ । धेरै लेखक कठोर लेखन तर यथार्थताको नजिक जान संकोच मान्छन् । यि यस्ता मनुष्य जल्लाई व्यंग्य प्रहार गर्न, दुर्गति र विसंगति विरुद्ध प्रहार गर्न कुनै कठिनाई हुँदैन किनभने आखिर खासमा गर्नुपर्ने त्यहि नै हो फेरी । पोखरेली साहित्यमा सिमित व्यंग्य हस्ताक्षरमा पर्नेमा उनि पनि एक हुन । सरुविन्द बिचारलाई मूल मान्ने लेखक हुन किनभने बिचारबाटै समाज निर्देशित हुने भएकोले सहि बिचारका पक्षपातिको सचेतनाको मोर्चामा उनि उभिएको आभाष पाईन्छ । सरुविन्दको यो कवितामा एकछिन नजर लगाउँदा कसो होला ?...........

बा, म प्रधानमन्त्री हुन्न !

भर्खरै ६ वर्ष पुगेको मेरो सानो छोराले
मसँग अकस्मात् सोध्यो
बा, म के बनौ. ?
मेले स्वभावतः सम्झाउँदे भने
बाबु, तिमी मान्छे बन, मान्छे जस्तै बन ।
उस्ले पुनः सोध्यो
यो देशको ठूलो मान्छे को हो बा ?
मैले छोटो उत्तर दिए
‘यो देशको प्रधानमन्त्री ।’
उसले फेरि सोध्यो
सगरमाथाभन्दा पनि ठूलो बा ?
‘शरीर मान्छेकै जस्तो त हो नि !’ मैले भनेँ !
‘त्यति सानो शरीरले सुरक्षा कसरी दिन्छ बा ?’ उसले भन्यो ।
बाबु, उसँग देश हुन्छ
उसँग नदी हुन्छ
उसँग हिमाल हुन्छ
उसँग भूगोल हुन्छ
अनि उसँग बन्दुक बोकेका पुलिस हुन्छन्
अनि उसँग राइफल लिएका सेना हुन्छन्
अनि उसँग बम र बारुदका कारखाना हुन्छन् बाबु !’
मैले यसो भनिरहँदा नजिकै बन्दुक पड्केको आवाज आइरहेको थियो
सानो छोराले लगलग काम्दै भन्यो
बा, डर लाग्यो प्रधानमन्त्री यतै आए जस्तो छ । ’
मैले काखमा लिएँ, कपाल सुम्सुम्याएँ
धेरै दिनपछि छोराको भोक मेट्न
गुन्द्रुक र ढिँडो पस्केँ र म्वाइँ खाएँ
बिचरा उ जाडोमा नाङ्गै थियो
दिनभर मेरै प्रतिक्षामा रहेछ
निरक्षर रहे पनि समझदार रहेछ छोरो
म भन्दा महान् कोही देखेनछ उसले.......(बाँकि पंक्तिहरु छन् ।)

लेखनमा स्वच्छन्द आकाशको स्वतन्त्रतामा सम्झौताबिनाको दुस्साहस गर्ने स्पष्ट कित्तामा उभिएका सरुविन्द परम्परागत लेखनको पक्षपोषणबाट अलग्गै देखिन्छन् । विष्लेशण, बिचार र बिमति, विसंगतिप्रतिको झर्रो, टर्रो, तीतो जस्लाई जे लागेपनि सिधा जवाफ अनागरिक सरुविन्दको निष्पक्ष पहिचान हो ।

हामीकहाँ विद्यमान फटाहाहरुले अद्यावधि अपुतालि खाईरहेका छन् पूर्व फटाहाहरुको र मरिरहेछन् निमुखाहरु । आवरण फेरिएको छ तर पुराना बेमेलका छिद्रहरु टालिएका छैनन्, जस्लाई टाल्नुपर्ने मुख्य जिम्मेवारी हो । दरिलो कलम अनि श्रष्टाको मसि नसुकोस् अविरल अक्षरहरुको शिविर र साम्राज्य खडार गरेर उज्लालो भविष्य देखाउन अभिप्रेरणा मिर्लिरहोस् सलाम.....। अस्तु

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete